पञ्च–तत्व सिद्धान्त: स्वस्थ जीवन र प्रकृतिको सन्तुलन

पञ्च–तत्वअन्तर्गत ‘आकाश, हावा, पानी, ताप र पृथ्वी (माटो)’ पर्दछन् । यी पाँच तत्वमध्ये कुनै एकबिना जीवनको कल्पना समेत गर्न सकिँदैन ।

पञ्च–तत्वमध्येको एक तत्व हो– आकाश । प्रश्न उब्जन सक्छ– आकाश नभए जीवन चल्दैन र?  हो, आकाश नभएको अवस्थामा पनि जीवन सम्भव छैन किनभने आकाश भनेको खालि भाग हो; ब्रह्माण्डमा खालि भाग नै नहुने हो भने हामीले फेर्ने सास (श्वास) नै उपलब्ध हुँदैन । हामीले कुनै पनि किसिमको सञ्चार गर्दा खालि भागको आवश्यकता हुन्छ । ब्रह्माण्डमा खालि भाग नभएको अवस्थामा एक भागबाट अर्को भागमा सञ्चार हुन सम्भव छैन; सञ्चार प्रक्रिया सम्भव नै हुँदैन । आफूले आफैंसँग कुरा गर्दा पनि खालि ठाउँको आवश्यकता हुन्छ ।

यसको अर्थ, मनमा कुरा खेलाउनका लागि समेत खालि भागको आवश्यकता हुन्छ । आफूले आफैंसँग कुरा गर्ने प्रक्रियालाई आम सञ्चारको भाषामा ‘इन्ट्रापर्सनल कम्युनिकेसन’ भनिन्छ । आजको दुनियाँमा आम सञ्चारको लोकप्रियता बढिरहेको छ । ‘ग्लोबल भिलेज’ को अवधारणाले व्यापकता पाउन थालेको छ । ब्रह्माण्डमा खालि ठाउँ भएकैले अर्थात् आकाश भएकै कारण विभिन्न विधि र माध्यमका आमसञ्चार सम्भव भएको हो । त्यसैले, फेरि दोहोर्‍याऊँ– आकाशको अभावमा जीवन सम्भव छैन ।

पञ्च–तत्वमध्येको अर्को तत्व हो– हावा । यो ब्रह्माण्डमा प्राकृतिकरूपमा सित्तैंमा पाइने जीवनका लागि अनिवार्य तत्व हो । हरेक सजीव प्राणी तथा वनस्पति जिउनका लागि हावा अनिवार्य तत्व हो । यदि जीवनका लागि अनिवार्य हुँदैन थियो भने यो तत्व समेत पैसामा किन्नुपर्ने अवस्था हुन्थ्योहोला । यद्यपि, आधुनिक चिकित्सा विज्ञानमा भने उपचारात्मक रूपमा हावा पनि किन्नुपर्ने अवस्था छ । दमका रोगी र जटिल किसिमका उपचार पद्धति अपनाउनुपर्ने अरु बिरामीका लागि ‘अक्सिजन’ को शुल्क तिरेर हावा समेत किन्नुपर्ने अवस्था छ । प्राकृतिकरूपमा सित्तैंमा पाइले प्रकृतिको वरदान ‘हावा’ समेत किनेर बाँच्नका लागि सास फेर्नुपर्ने बाध्यता प्रकृतिविपरीत छ ।

पञ्च–तत्वमध्येको अर्को तत्व हो– पानी अर्थात् जल । जसरी आकाश र हावाबिना जीवन सम्भव हुँदैन, त्यसैगरी पानीबिनाको जीवन सम्भव हुने कुरै भएन । दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर पानी बन्छ । ७० प्रतिशत पानी र बाँकी ३० प्रतिशत अरु तत्व मिलेर मानव शरीर बनेको हुन्छ । यसर्थ, स्वस्थ रहनका लागि समान्यतः दैनिक चारदेखि पाँच लिटरसम्म पानी पिउनु आवश्यक हुन्छ । आफू बसेको हावा–पानी, भूगोल, खानपान, उमेर तथा तौलअनुसार पानी पिउनुपर्ने हुन्छ । गर्मी ठाउँमा बसोवास गर्ने व्यक्तिको पसिनाका रूपमा शरीरबाट पानीको मात्रा बाहिर धेरै जाने भएकाले त्यस्तो ठाउँमा बसोवास गर्ने व्यक्तिले तुलनात्मकरूपमा बढी नै पानी पिउनुपर्छ । दैनिक कम्तिमा दुई लिटर पिसाब आउने गरी पानी पिउनुपर्छ । दुई लिटर पिसाब आउनका लागि चारदेखि पाँच लिटर पानी पिउनु आवश्यक हुन्छ । कम्तिमा आधा–आधा घन्टाको अन्तरालमा पानी पिउनु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ । बिहान उठ्नेवित्तिकै पानी पिउनाले शरीरमा भएका विकार तत्व बाहिर जान मद्धत मिल्छ । भकभकी उमालेपछि सेलाएर मनतातो भएको पानी पिउनु लाभदायक हुन्छ ।

वातावरणीय प्रभाव तथा विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ) का कारण दिनानुदिन पृथ्वीको तापक्रम बढिरहेको छ । यसले पानीको स्रोतमा नकारात्मक प्रभाव पार्दा ब्रह्माण्डमा पानीको भाग घट्दो छ । पानीको भाग घट्दै गएकाले कालान्तरमा कतै मानवजीवन, सजीव प्राणी तथा वनस्पतिको जीवन नै त सङ्कटमा परेर सखाप हुँदैन ? चिन्ता र चिन्तनको विषय छ । मानवजातिले पानीको स्रोतको संरक्षणमा बेलैमा ध्यान नपुर्‍याउने हो भने कालान्तरमा यस्तो सङ्कट नआउला भन्न सकिँदैन ।

पञ्च–तत्वमध्येको अर्को तत्व हो– ताप । तापबिना कुनै पनि सजीव प्राणी तथा वनस्पतिको जीवनचक्र सम्भव छैन । सजीव होस् वा निर्जीव दुवैमा तापका कारण ऊर्जा प्राप्त हुन्छ । तापकै कारण प्राणी तथा वनस्पतिमा ऊर्जा मिल्छ, जसका काण जीवनचक्र चल्छ । माटो नतातेको अवस्थामा कुनै पनि वनस्पतिको जीवन सम्भव छैन । कुनै सजीव प्राणी तथा वनस्पतिको प्रजननका लागि समेत वातावरण तात्नु आवश्यक हुन्छ । ढुङ्गाको समेत जीवनचक्र हुन्छ भनिन्छ । एउटा ढुङ्गा जिउनका लागि समेत तापको आवश्यक हुन्छ । त्यो ढुङ्गामा पर्ने तापले उसको जीवमा प्रभाव पर्छ । ढुङ्गामा ताप पर्दा त्यो ढुङ्गा फुट्ने र खिइने तथा तौल घट्ने र बढ्ने प्रक्रिया चल्छ । तापका कारण पहाडका रूपमा रहेको ढुङ्गा बिस्तारै चोइटिएर टुक्रा पर्दै वातावरणीय प्रभावस्वरूप बालुवामा परिणत हुन्छ ।

पञ्च–तत्वमध्येको अर्को तत्व हो– पृथ्वी, जहाँ सम्पूर्ण सजीव प्राणी तथा वनस्पतिको अस्तित्व रहेको छ । यस तत्वको अभावमा सजीव तथा निर्जीव जीवनको कल्पना गर्न सकिने कुरै भएन । धर्तीमा पञ्च–तत्वको सन्तुलन रहेकैले जीवनचक्र सम्भव भएको हो । कुनै पनि सजीव प्राणी तथा वनस्पतिका लागि आवश्यक वातावरण प्राकृतिकरूपमा नै उपलब्ध भएकाले पृथ्वीमा सजीव प्राणी तथा वनस्पति सम्भव भएको हो । व्यक्ति स्वस्थ हुनका लागि मात्र होइन, अस्तित्वमा रहन समेत पञ्च–तत्व पनि स्वस्थ हुनु आवश्यक छ । पञ्च–तत्वमध्ये पृथ्वी अस्वस्थ भएको अवस्थामा प्राणी तथा वनस्पतिजगत् स्वस्थ हुन सम्भव छैन । प्रकृति स्वस्थ भए मात्र मानवजीवन स्वस्थ हुन्छ । प्रकृति स्वस्थ नभएको अवस्थामा भूगोल अस्वस्थ बन्न पुग्छ ।

भूगोल नै अस्वस्थ भएपछि विभिन्न किसिमका रोगको प्रकोप बढ्छ । हामीले देखेका तथा सुनेका छौं– पृथ्वीमा समय–समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोप तथा रोगका महामारी चल्ने गरेका छन् । पञ्च–तत्वमध्येका कुनै एक वा दुई–तीन या सबै अस्वस्थ भएको अवस्थामा यस्ता प्रकोप तथा महामारीको सिर्जना हुन्छ । त्यसैले, मानव स्वस्थ हुनका लागि पृथ्वी स्वस्थ राख्नु आवश्यक छ । विकासका नाममा आज प्राकृतिक स्रोतको जथाभावी दोहन गर्ने क्रम बढ्दै गएको छ । वनजङ्गलको बिनाश, पानीको जथाभावी प्रयोग, अनेकौं कारणबाट सिर्जना गरिने वातावरणीय प्रदूषण आदिले पृथ्वी मात्र होइन, सिङ्गै ब्रह्माण्ड नै अस्वस्थ बन्दै गएको छ । व्यक्तिलाई स्वस्थ र दीर्घजीवी हुनु त छँदैछ त्यसैले स्वच्छ श्वास–प्रश्वासका लागि वातावरण स्वच्छ राख्दै र सास फेर्ने वातावरण बनाउने जिम्मा मानवजातिकै हो । अन्यथा, कालान्तरमा गएर मानवजाति पनि लोप नभइएला भन्न सकिन्न ।

Our Doctors Profile

पञ्च–तत्व सिद्धान्त
पञ्च–तत्व एक–आपसमा अन्तर्सम्बन्धित छन् । यदि यी अन्तर्सम्बन्धित नहुँदा हुन् त ब्रह्माण्डको अस्तित्व नै सम्भव थिएन । आकाशले हावा उत्पन्न गर्छ, जसलाई ‘वायु’ पनि भनिन्छ । हावाको प्रभावका कारण पानीको उत्पत्ति हुन्छ । पानीको मन्थनकै प्रभावस्वरूप पृथ्वीको आकार आएको मानिन्छ । ब्रह्माण्डमा तीनमध्ये दुई भाग पानी छ भने एक भाग मात्र जमिन छ । पृथ्वीले हावालाई न्यानो बनाएर ताप उत्पन्न गर्छ । तापको अस्तित्व खालि आकाशमा अन्तर्निहीत हुन्छ । यदि खालि भाग नहुँदो हो त ताप पनि सम्भव हुँदैनथ्यो । त्यसैले ब्रह्माण्डमा खालि भागका रूपमा रहेको आकाश तत्व प्रभावकारी अस्तित्वमा छ । खालि भागमा घर्षण उत्पन्न हुँदा तापको उत्पत्ति हुन्छ । त्यसैले त भनिन्छ– खाना खाँदा पनि आवश्यकताभन्दा धेरै (अजीर्ण हुने गरी) खानुहुन्न । धेरै खाएमा पाचन प्रणालीले राम्रोसँग काम गर्दैन र खाना पचाउन मुस्किल पर्छ । यसर्थ, कहिलेकहीं पूरै पेट र प्रायः समय पेटको केही भाग खालि राख्नु स्वास्थ्यका निम्ति अत्यावश्यक हुन्छ । पेटभित्र समेत आकाश तत्व अर्थात् खालि ठाउँको महङ्खव हुन्छ ।

जसरी पञ्च–तत्वमध्येको एउटा तत्वले अर्को तत्व उत्पन्न गर्छ, त्यसैगरी एक तत्वले अर्को तत्वलाई नियन्त्रण पनि गर्छ । त्यसैले पञ्च–तत्व एक–अर्काका परिपूरक छन् । एक हिसाबले भन्नुपर्दा यी तत्व ‘शक्ति पृथकीकरण’ को सिद्धान्तमा आधारित छन् । ‘चेक एन्ड ब्यालेन्स’ (नियन्त्रण र सन्तुलन) को विधिमा नै पञ्च–तत्वले एक–अर्काबीच स्वनियमनमा रहेर प्राकृतिकरूपमा काम गरिरहेका छन् । एउटा तत्वले गडबडी गर्न खोजेमा अर्को तत्वले नियन्त्रण गर्नु पञ्च–तत्वको प्राकृतिक नियम हो ।

पञ्च–तत्वमध्येका एकले अर्को तत्वलाई नियन्त्रण गर्ने क्रममा तापले पृथ्वीलाई नियन्त्रण गर्छ; पृथ्वीले पानीलाई नियन्त्रण गर्छ; पानीले हावालाई नियन्त्रण गर्छ र हावाले आकाशलाई नियन्त्रण गर्छ । आकाशले पुनः तापलाई नियन्त्रण गर्छ । यसरी एक–आपसमा प्राकृतिकरूपमै नियमन तथा नियन्त्रण गर्ने थिएनन् भने न यी तत्वको अस्तित्व रहन्थ्यो न त ब्रह्माण्डकै अस्तित्व हुन्थ्यो । ब्रह्माण्डकै अस्तित्व नभएको अवस्थामा सजीव प्राणी तथा वनस्पतिलगायतको अस्तित्वको कल्पनै हुने थिएन ।

पञ्च–तत्वको सिद्धान्त मानव शरीरसँग प्रत्यक्षरूपमा सम्बन्धित छन् । पञ्च–तत्वको सिद्धान्तअनुसार मानव शरीरलाई ब्रह्माण्डभित्रको एउटा पञ्च–तत्व मानेर विश्लेषण गर्न सकिन्छ । यसरी हेर्दा शरीरको आकाश तत्व स्नायु प्रणाली हो; हावा तत्व श्वास–प्रश्वास प्रणाली हो; पानी तत्व रक्तसञ्चार र प्रजनन प्रणाली हो; पृथ्वी तत्व माङ्शपेशी तथा अस्थिपञ्जर प्रणाली हो र ताप तत्व पाचन तथा ग्रन्थी प्रणाली हो भन्ने मानिन्छ ।

पञ्च–तत्वले ब्रह्माण्डभित्र एक–आपसमा मिलेर जसरी काम गरिरहेका छन्, ठीक त्यसैगरी शरीरभित्रका पञ्च–तत्वरूपी अङ्ग अर्थात् प्रणालीले पनि एक–आपसमा मिलेर नै प्राकृतिकरूपमा काम गरिरहेका हुन्छन् । यसैकारण सिङ्गो शरीर तथा शरीरभित्र ‘आत्मा’ सम्भव भएको हो । शरीरका यी तत्वले एक–आपसमा मिलेर यसरी काम नगर्ने हो भने सिङ्गो शरीर र स्वचालित ढङ्गबाट यसको प्राकृतिक प्रणाली कल्पना गर्न सकिँदैन । शरीरका यी तत्वले एक–आपसमा मिलेर काम स्वचालित ढङ्गबाट आफ्नो प्रणाली सञ्चालन नगरेको अवस्थामा शरीर मृत हुन्छ ।

अतः यही यथार्थतालाई हृदयङ्गम गरेर पञ्च–तत्व विधिबाट गरिने उपचार पद्धति नै होलिस्टिक अवधारणाअन्तर्गतको उपचार–सूत्र हो ।


You May like to Read more Blog

Somatic Healing: The Key to Emotional and Physical Wellness
Yoga: Nature’s Stress Medicine
Forest Therapy: Returning to the Woods for Holistic Healing

Special Offer by Holistic Universal Hospital

Leave a reply